बैतडी —बालविवाह न्यूनीकरणका लागि बैतडीमा पत्रकारहरुका लागि तालिम शुरु भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा सञ्चारिका समूह नेपालले तालिम सञ्चालन गरेको हो । बालविवाहका कारण हुने समस्याका बिषय सञ्चार माध्यममार्फत उजागर गर्नका लागि तालिमको आयोजना गरिएको हो । बालविवाह न्यूनीकरणका लागि एउटै क्षेत्रबाट मात्रै सम्भव नभएको र बालविवाह अन्त्यका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमको आयोजना गरिएको हो ।
तालिममा जिल्लाका सक्रिय पत्रकारहरुको सहभागिता रहेको छ । बालविवाहका कारण हुने समस्याका बिषयमा सञ्चार माध्यमबाट जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको सञ्चारिका समूहका सदस्य दुर्गा कार्कीले बताइन् ।
बालविवाहले किशोरकिशोरीहरुको हरेक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको अन्त्यका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । उनले भने ‘बालविवाहले किशोरकिशोरीको शिक्षा, स्वास्थ्य, सामाजिक हरेक क्षेत्रमा असर पुर्याएको छ । यसको अन्त्यका लागि सञ्चारमाध्यमहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’
तालिममा बालविवाहले पार्ने असर र कानुनी प्रावधानका बारेमा अधिवक्ता लक्ष्मी पोखरेलले जानकारी गराइन् । उनले भनिन्‘बालविवाह कानुन विरुद्धको कार्य हो । त्यसैले यो बिषयमा सञ्चार माध्यमहरुले समाजमा जानकारी गराउन आवश्यक छ ।’
आजदेखि शुरु भएको दुई दिने तालिममा २० जना भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । तालिमपछि बालविवाह विरुद्धका अभियानमा पत्रकारहरुको भूमिका अझै फराकिलो हुने अपेक्षा गरिएको छ ।