बैतडी-बैतडी लगायत सुदूरपश्चिममा बिहिवार पुसे १५ तथा ठूलीरात मनाइँदै छ । पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले ठूलीरात भन्ने गरिएका हो । आज राति मिठो मसिनो खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने रातभरी भललै,(भागसिरी) डेउडा, दन्त्यकथा, बातै (कहानी) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने र बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार एवं शिक्षक मुरलिधर अवस्थीले बताए ।
साउन र पुस महिनामा दानवहरु बढी हुने र देवताहरु कैलाश जाने भएकाले पन्नरी रातमा प्राचिन कालमा ऋषिमुनिहरुले देवताहरुलाई जागराम बसाएकोले पुस १५ को रात जागराम बस्ने गरेको हो । राति बस्दा गाउँभरिका मानिस एकठाउँमा जम्मा भइ महाभारत अन्तर्गत कौरव पाण्डवको वर्णन गर्नेगरेको बैतडीको सुर्नया ६ का स्थानीय संस्कृतीका जानकार एवं अनिरुद्र मन्दिरका पुजारी गणेश दत्त अवस्थीले बताए ।
पुस पन्नरीका रूपमा मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने गरिन्छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ राखेको भात खाने चलन छ । कुनै कुनै ठाँउमा तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ ।
पुस १५ को १र२ दिन अगाडि पछाडि सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न, शरीर फूर्तिलो बनाउन चिल्लो पदार्थ राखेका तातो खानेकुरा खाने गरिएको समेत पुजारि अवस्थीको भनाई छ । विषेशगरि रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्त्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ ।
पुस ६ गतेलाई उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन भनिए पनि बैतडीलगायत सुदूर पश्चिमी समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजको रात संगै जागराम बसेमा अर्को जुनिमा समेत भेटहुने जनविश्वाश रहिआएको पनि शिक्षक अवस्थीले बताए ।