अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन आज नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर केहि बर्ष पहिलेदेखि यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।
नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कास्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीलाइ भाद्गाउँले टोपी र ढाका टोपीका रुपमा लिने गरिन्छ ।
तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।