बैतडी - बैतडीको डिलाशैनी गाँउपालिका ३ गिरेबगडका दलित परिवारहरू सडकमा गिट्टि कुटेरै आफ्नो जिविका चलाइरहेका छन । आर्थिक अवस्था कमजोर भएका उनिहरू बिहान देखि साँझ सम्म सडकमा गिट्टि कुटेरै समय बिताउछन । दिनभरि गिट्टि कुटेर आफ्नो आर्थिक जोहो गर्दै आएका डिलाशैनी ३ गिरेबगडका धाना कोलिलाई देशमा लोकतन्त्र, गणतन्त्र , संघीयता आएको आभास छैन ।
दिनभरि गरेर ५ देखी ६ कट्टा गिट्टि बनाए पनि उचित दाम र बजार समेत नपाउने गरेको उनको गुनासो छ । आफुहरुसंग रोजगारी नभएको र गाउँमा काम गर्न चाहेमा पनि दलित भएकै कारण काम नपाउने गरेको उनले गुनासो गरिन । दिनभरि काम गरे मात्रै साँझको छाक टार्न सकिन्छ नभए भोक भोकै बस्नुपर्छ भन्दै भक्कानिइन ।
२०७४ सालको स्थानीय चुनावमा सिंहदरबारको अधिकार घर घरमा लिएर आउछौ भन्दै भोट मागेका हरूले आफ्ना लागि गरे होलान तर हाम्रा दिनहरू उस्तै छन उल्टै अहिले रोडमा हामिहरूले काम गरेको देख्दा पनि नेताहरु नदेखेझैं गरि जाने गरेको गिरेबगडका कलावति लुहारको गुनासो छ ।
स्थानिय सरकार आएमा आफ्ना दिनहरु फेरिने आशाले गाउँघरका नेताहरुलाइ भोट दिएर जिताएको तर जितेर गएका नेताहरुले पनि आफ्ना आफन्त तथा पहुँच भएका हरुलाई मात्र हेर्ने गरेको डिलाशैनी गाउँपालिका ३ गिरेबगडका गोविन्द लुहारको भनाइ छ । हामिहरू दलित भएकै कारण कामबाट बञ्चित छौं , दलित भएकै कारण रोजगारि पाउदैनौ चुनावका बेला चर्का नारा लगाउने नेताहरूलाई आफुहरूको मर्का बुझ्न उनिहरूले आग्रह समेत गरेका छन ।