बैतडी - हालसम्म ७ लाख ४९ हजार मतदाता थपिएका निर्वाचन आयोगले जनाएको छ । आयोगले ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली संकलन गरिरहेको जनाएको छ ।
यसअघि गत मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । एक महिनासम्म गरिएको मतदाता नामावली संकलन कार्यक्र दुई चरणमा सञ्चालन गरिएको थियो । मतदाता नामावली संकलन अभियान तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो भने हिमाल र पहाडमा १० दिन तोकिएको थियो ।
मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिँदै छ । तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगको भनाइ रहेको छ । आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने आयोगले जनाएको छ ।