बैतडी-नेकपा एमाले सुर्नया गाउँकमिटीले पालिकालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । पाँच बुदे माग राख्दै आफुहरूले ज्ञापनपत्र बुझाएको गाउँकमिटी उपाध्यक्ष लाल बहादुर पाण्डेले बताए । सुर्नया गाउँपालिका अन्तर्गत रहेका विकास निर्माणका कार्य र गाउँपालिका बाट प्रदान हुने सेवा प्रति सेवाग्राहीहरूका गुनासाहरू आएकोले उचित मागहरू कार्यपालिकामा छलफलगरि सम्बोधन गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
राजेन्द्र प्रसाद भट्ट द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सामाजिक सुरक्षा भत्ता अन्य पालिकामा त्रैमासिक निकासा भइ वितरण भइसक्दा पनि सुर्नयामा ढिलाइ भएकोले तत्काल निकासा गर्नुपर्ने , प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोट गरिएका सुची आधार हिन भएकोले फेरबदल गर्नुपर्ने , चालू आ. व. को आधा समय बितिसक्दा समेत बजेट बिनियोजन गर्न नसकेकोले तुरुन्त बजेट बिनियोजन गर्नुपर्ने मागहरू ज्ञापन पत्र मार्फत राखिएका छन ।
यस्तै सडक मर्मत तथा सफाइ गर्दा पुर्वाग्रहि ढङ्गले गरेकोले सबै सडक आवश्यकताका आधारमा तत्काल सफाइ गर्नुपर्ने , विगतमा निर्माण भएका सडकहरूको भुक्तानी गर्नुपर्ने मागहरू राखि ज्ञापन पत्र बुझाएको गाउँकमिटी अध्यक्ष राजेन्द्र प्रसाद भट्टले बताए ।
यता गाउँपालिकाले भने आज नै ज्ञापनपत्र बुझाउन आएका एमाले नेता कार्यकर्ता तथा अन्य दलका नेता कार्यकर्ता र गाउँपालिका बिच छलफल भइ केही बिषयमा सहमति भएको र बाकि बिषयमा कार्यपालिकामा टुङ्ग्याउने गरि छलफल गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत कमलापति भट्टले बताए ।