कञ्चनपुर-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।
घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले ति मध्ये निर्मला मृत फेला परेको क्षेत्रको आसपासमै रहिआएका भारतीय नागरिकलाइ पक्राउ गरेको हो ।
यद्यपि, बलात्कार तथा हत्या घटनामा उनी संलग्न रहे÷नरहेको पुष्टि भने भएको छैन । नियमित अनुसन्धानको प्रक्रिया अन्तर्गत उनी निगरानीमा रहेको प्रहरी स्रोतले जनाएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धानको सयुक्त डेडिकेटेड टीमले निर्मला हत्याको घटनामा अनुसन्धान गरिरहेको छ ।
२०७५ साउन १० गते बेपत्ता भएकी बालिका पन्त भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि हत्या भएको साढे तीन वर्षसम्म पनि निर्मला पन्त प्रकरणमा प्रहरीले पर्दा उघार्न सकेको छैन ।
अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भएका थिए भने विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाएका छन् ।
सीआईबीले २÷२ महिनाको अन्तरमा विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको समेत मृत्यु भएको थियो ।