बैतडी- हिउँदे फलफूलका बिरुवा रोेप्न अहिलेको समय उत्तम भएकोले यो समयमा बिरुवा रोप्नको लागि सुख्खा फलफुल केन्द्र सतबाँझ बैतडीले सबैमा आग्रह गरेको छ । यो वर्ष हिउँदे वर्षा समयमै भएकोले बैतडी लगायत मध्यपहाडी क्षेत्रमा हिउँदे फलफूलका बिरुवा रोप्न सहज भएको सुख्खा फलफुल विकास केन्द्रका कार्यालय प्रमुख डम्बर सिंह भाटले बताए ।
समयमै भएको हिँउदे बर्षाले फलफूलका बिरुवा रोप्नका लागि ८ बर्ष यताकै उत्तम समय भएको भाटले बताए । प्रमुख भाटका अनुसार यो समय हिउँदे फलफूलका बिरुवा रोप्नका लागि निकै उपयुक्त भएकोले प्राविधिकको सल्लाह लिएर बिरुवा रोप्नको लागि आग्रह गरेका छन ।
हिउँदे फलफूलका बिरुवा रोप्नका लागि विरूवाका जात अनुसार १ घनमिटरको खाल्डो खन्नुपर्ने , पाकेको कम्पोष्ट मल र किटनाशक औषधीको प्रयोग गर्नुपर्ने प्रमुख भाटको भनाइ छ ।
बिरुवा रोप्दा प्रत्येक बोटको दुरि ५ देखि ६ मिटर सम्म कायम गर्नुपर्ने तर ओखरका लागि भने ८ देखि १० मिटरको दुरि कायम गर्नुपर्ने, खाल्डोमा बिरुवा रोप्दा सतहको माटो खाल्डोको गहिराई र भित्री सतहको माटो गोबरमलसंग मिसाएर माथिल्लो सतहमा राख्नुपर्ने र खाडल पुर्दाखेरि माटोलाई जमिनको सतह भन्दा १५ सेन्टिमिटर अर्थात एक बित्ता अनिवार्य रुपमा माथि उठाउनु पर्ने सुख्खा फलफुल विकास केन्द्रका प्राबिधिक अर्जुन खडकाले बताए ।
बोट लगाएपछि अधिकांश बोट टुट्ने भएकोले स्टीक सपोर्ट अर्थात काठको सपोर्ट दिनुपर्ने प्राबिधिक खडकाको भनाई छ । यो समयमा ओखर, नासपाती, कागजी बदाम,खुर्पानी, स्याउ, आरु,आरुबखडा लगायतका बिरुवाहरु रोप्न उपयुक्त हुने सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरीमा ५७ हजार हिउँदे फलफूलका बिरुवा विक्रियोग्य रहेका बताइएको छ । यस्तै जिल्लाका विभिन्न २४ निजी नर्सरीहरुमा ५ लाख ९८ हजारको हाराहारीमा बिक्रियोग्य बिरुवा रहेका जनाइएको छ ।