बैतडी–बैतडीको सुर्नया वडा नं ७ र ८ का टोलहरुमा बाँदरहरूले आतंक मच्चाएपछि किसानहरू चिन्तित बनेका छन । वडा न. ७ र ८ का टोलहरू सेला , झाड्बो , कडमडा, पथ्थरकोट लगायतका ठाँउमा बाँदरहरूले आतंक मच्चाएका हुन ।
गाउँमा लगाएको हिउँदे बाली , तरकारी ,फलफुल बाँदरहरूले घरमै आएर नोक्सानि गर्न थालेको सुर्नया ७ झाड्बोका दल बहादुर मडैले बताए । यी टोलहरुमा बर्षातमा बँदेल,दुम्सी बाट जोगाएर राखेको मकै , छानोमा राखेका फर्सी, गुन्द्रुक बाँदरहरूले नोक्सान गर्ने गरेकोले किसानहरू समस्यामा परेका हुन ।
बादर आतंकको कारण बिहान देखि साँझ सम्म घरमा एक जनाले कुरेर बस्नुपर्ने बाध्यतामा त्यहाँका किसानहरू छन । बादरहरू एउटा गाउँबाट लखेटदा अर्को गाउँ, अर्को गाउँबाट लखेटदा अर्को गाउँ जाने गरेकोले त्यहाँका स्थानीयको दैनिकी नै बाँदर धपाउने बनेको छ ।
बैतडीका अन्य ठाँउहरूमा पनि बाँदरहरूले खेति तथा फलफुलहरूमा नोक्सानी गरेको गुनासो आइरहेको छ । सुर्नयामा बादर आतंक रोक्नको लागि स्थानीय सरकार संग अनुरोध गर्दा पनि कुनै सुनवाइ नभएको स्थानीयहरूको गुनासो रहेको छ । गाउँमा बेरोजगारिको समस्या त छदै थियो त्यसैमा हिंउदमा बाँदर आतंक र वर्षातमा बँदेल आतंकले गर्दा किसानहरुलाई निकै समस्या परेको बताइएको छ ।