बैतडी-बैतडी लगायत देशभरि १५ दिनका लागि सम्पूर्ण बिधालय बन्द गर्ने निर्णय गरेको छ । बैतडीलगायत देश भरि कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने हिसाबले बिधालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार जमघट, भेला, सभा, सम्मेलन , मेला महोत्सव,बिधालय लगायत भिडभाड हुने ठाउँहरूमा बैतडीमा पनि कडाइ गर्न लागिएको जिल्ला प्रसाशन कार्यलय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीका अनुसार सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्ने बताए ।
जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण विद्यालय हरु बन्दनै रहेको र बाँकी सञ्चालमा आएका विद्यालय हरुमा सीसीएमसीसीको सिफारिसको आधारमा बन्द गर्न सुचना गर्ने बताएका छन । सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
यस्तै राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको जनाएको छ ।बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएकोमा पूर्ण रूपमा कार्यान्वयन गर्ने सुचना अधिकारी भारतीको भनाइ छ ।
यस्तै सार्वजनिक ठाउँमा भेला, भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, रङ्गशाला, हवाइ यात्रा लगातका ठाउँमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको जनाएको छ ।