बैतडी-बैतडीमा किसानहरुले फलफूलका बोटबिरूवा बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । हिउँदे तथा बर्खे फलफूलका बिरुवा नर्सरीमा उत्पादन गरेर विभिन्न जिल्लामा बेचेर किसानहरुले राम्रो आम्दानी गर्ने गरेका छन ।
प्रत्येक बर्ष आफूले निजी नर्सरीबाट बार्षिक ६ लाख बढी कमाउने गरेको गुरूखोलाका अगुवा किसान देवदत्त भट्टले बताए । आफ्नो निजी नर्सरीबाट हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु विक्रि हुने गरेको उनको भनाई छ । आफ्नो निजी नर्सरीबाट बर्षेनी देशका विभिन्न स्थानमा फलफूलका बिरुवा पठाउने गरेको भट्टले बताए ।
बैतडीका विभिन्न ठाउँमा २४ बढी निजी नर्सरीहरू रहेका छन । किसानहरुले निजी नर्सरीबाटै लाखौ आम्दानी गर्ने गरेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्बर सिंह भाटले बताए । सुख्खा फलफुल विकास केन्द्र बैतडीबाट मात्रै गत बर्ष ३२ लाख बराबरको बिरुवा बिक्रि भएकोमा यो बर्ष २७ देखि २८ लाख बराबरको हिउंदे फलफुका बिरुवाहरु बिक्रि हुने अनुमान रहेको सुख्खा फलफूल केन्द्रले जनाएको छ ।
बैतडीमा सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्षेनी करोडौंका बिरुवा बिक्री हुने गरेको बताइएको छ । आफुहरूले मेहनत गरे पनि स्थानीय,प्रदेस,संघ सरकारले किसानहरू प्रति कुनै वास्ता नगरेको किसानहरूको गुनासो रहेको छ ।