Sagun Khabar
कोरोना कहर  : बैतडीका सरकारी कार्यालयमा सेवा लिन खोप कार्ड अनिवार्य 

बैतडी–कोरोना भाइरसको जोखिम बढ्दै गएपछि अब सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथ राख्नुपर्ने भएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्याउन खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

गृहमन्त्रालयको निर्देशन अनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने सूचना अधिकारी भारतीले बताए । 

Atrya hospital

कोरोनाको ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि आग्रह गरिएको उनले बताए । जिल्ला कोभीड संकट व्यवस्थापन समितिका तर्फबाट सबै पालिकाहरुलाई आइसोलेसन तयारी अवस्थामा राख्न आग्रह गरिएको भारतीले बताए । 

यस्तै जिल्ला सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह गरिएको सूचना अधिकारी भारतीले बताए । 

यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जना भन्दा बढी भेला नहुन भनिएको छ भने सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update