कैलाली –कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेपछि कैलालीमा १२ बुँदे आदेश जारी गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरि कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले १२ बुँदे आदेश जारी गरेका हुन् । आदेश लागू भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख गरिएको छ ।
२५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ । आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका अन्य मापदण्ड अपनाउन पनि आग्रह गरिएको छ ।
स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न पनि आग्रह गरेको छ । शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।
यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न आदेशमा भनिएको छ ।
जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ । अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ ।
सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आदेशमा उल्लेख गरिएको छ ।