बैतडी – कोरोनाका कारण बेलाबेलामा विद्यालय बन्द गर्नुपर्दा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किदै गएको छ । बैतडी जस्ता पहाडी क्षेत्रहरुमा शिक्षण सिकाई वैकल्पिक विधिहरु प्रभावकारी नहुँदा विद्यार्थीहरुको सिकाईमा दिनानुदिन प्रभाव परिरहेको ज्ञानेश्वर नमूना माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए ।
कोरोनाका कारण विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको उनले बताए । उनले भने ‘अन्य क्षेत्रहरु खुला भएको अवस्थामा समेत विद्यालय मात्रै बन्द गर्ने हतार गरिन्छ । यसले शिक्षा क्षेत्रमा व्यापक समस्या ल्याएको छ ।’
कोरोना संक्रमण तीव्र गतिमा फैलिएको भन्दै १५ दिनका लागि विद्यालयहरु बन्द गरिएका छन् । तर शिक्षण सिकाईका वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सकिने भएपनि पहाडी क्षेत्रहरुमा वैकल्पिक माध्यमहरु उपयोगी हुन नसकेका सहायक प्रधानाध्यापक महराले बताए ।
कोरोनाका कारण गएको दुई बर्ष यता शिक्षा क्षेत्रमा ठूलो नोक्सानी पुगेको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले बताए । पहाडी क्षेत्रहरुमा विभिन्न कारणले अनलाइन कक्षाहरु समेत प्रभावकारी हुन नसकेका उनले बताए । उनले भने ‘कतिपय ठाउँमा अझै इन्टरनेटको पहुँच पुगेको छैन् । त्यसैले अनलाइन कक्षाहरु प्रभावकारी हुन सकेका छैनन् ।’
कोरोनाका कारण विद्यालयहरु बन्द हुँदा बालबालिकाहरुको सिकाईमा नकारात्मक प्रभाव परेको निङ्गलाशैनी मावि देहीमाण्डौंका शिक्षक तिलक बोहराले बताए ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको शिक्षा मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा शिक्षणका वैकल्पिक उपायहरु अपनाउन उपयुक्त हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।