Sagun Khabar
कोरोना कहर : बैतडी प्रशासनले बार अनुसार सेवा प्रदान गर्ने 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै आगामी माघ ७ गतेदेखि पालिकाका नागरिकलाई बार अनुसार सेवा दिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । 

Atrya hospital

बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

यस्तै कोरोनाको जोखिम बढ्दै गएकाले २५ जना भन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचना मार्फत आग्रह गरेको छ । यस्तै जनस्वास्थ्यका मापदण्ड परिपालना गर्न समेत प्रशासनले सबैमा आग्रह गरेको छ । 

यस्तै स्वास्थ्य कार्यालयले स्थानीय तहसंग समन्वय गरेर १२ देखि १७ बर्ष उमेर समूहका सबै बालबालिकाहरुलाई एक हप्ताभित्र खोप लगाईसक्नुपर्ने र त्यसको लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update