बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका ३० बर्षीय डम्मर अवस्थीको हत्या आरोप लागेका हरिश अवस्थीमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको छ । प्रहरी नियन्त्रणमा रहेका हरिशमाथि अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
प्रहरी समक्ष हरिशले आफू हत्यामा संलग्न रहेको स्वीकार गरेको भएपनि किन र कसरी हत्या गरे भन्ने कुरा अझै खुल्न सकेको छैन् । डम्मरको हत्यामा अन्यको संलग्नताका बिषयमा पनि अहिले सम्म खुलिनसकेको प्रहरी निरीक्षक ओझाले बताए । उनले भने ‘हामीले यो घटनाको बिषयमा सुक्ष्म तरीकाले अनुसन्धान गरिरहेका छौं । घटनाका बिषयमा बुझ्ने काम भईरहेको छ । अहिले सम्म हरिशले एक्लैले हत्या गरेको भनेको छ । हामी त्यो बिषयमा बुझिरहेका छौं ।’
गएको मंसिर १४ गतेबाट हराईरहेका डम्मरको शव घर नजिकैको जंगलको गुफामा गाडेको अवस्थामा बुधबार फेला परेको थियो । आफूलाई अपहरण गरेको भनेर नाटक गरेका हरिशबाट नै डम्मरको हत्या भएको कुरा खुलेको थियो ।
यता डम्मरको परिवारले अझै पनि शव बुझेका छैनन् । डम्मरको हत्यामा हरिशसंगै अरु पनि संलग्न रहेकाले उनीहरुको खोजी गरी कारवाही हुनुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने लगायतका मागहरु परिवारजनले राखेका छन् । डम्मरको शव पोष्टमार्टमपछि जिल्ला अस्पातलमै रहेको छ ।
डम्मर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य समेत रहेकाले उनको पार्टीले समेत शव बुझ्न इन्कार गरेको छ । आफ्ना सदस्यको हत्यामा संलग्न सबैलाई कानुनी दायरमा ल्याउनुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने आफूहरुको माग गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव रामसिंह कुँवरले बताए ।