Sagun Khabar
सुदूर पहाडमा ‘नरहरी’पर्व मनाइँदै 

बैतडी – बैतडी सहित सुदूरपहाडमा आज नरहरी पर्व मनाइँदैछ । माघे सक्रान्तिलाई सुदूर पहाडमा नरहरी पर्वको रुपमा मनाउने गरिन्छ । 

यो पर्वमा बिहानै नुवाई धुवाई गरेर पौष मसान्तको राती पकाएका मिठा परिकारहरु बिहानै कागलाई दिने चलन रही आएको छ । कागलाई देवदुत तथा पितृदुतको रुपमा मान्ने भएकाले कागलाई खानेकुरा दिने चलन रही आएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । 

Atrya hospital

बिहानै घरका बालबालिकाहरुलाई कागलाई बोलाएर आफूले दिएको खाना खान आग्रह गर्ने गर्दछन् । का कव्वा का का, मेरो रोटा खा खा, का का कव्वा का का तइ खा लौन, मइ दे भव्वा खेलौन लगायतका स्थानीय भाषाका बालगीतहरु गाएर कागलाई सेल,रोटी,माडा दिने चलन रही आएको छ । 

नरहरी पर्वको दिन बिहानै नुवाईधुवाई गरेर दिउँसो मिठोमसिनो खाने चलन रही आएको छ । आजदेखि देवताहरुको पर्व समेत शुरु हुने आचार्य लेखकले बताए । 

यो पर्वमा बिशेष गरेर चामलबाट बनेका परिकारहरुका साथै तरुल खाने चलन रही आएको छ । आजैदेखि माघस्नान गर्ने चलन समेत रही आएको छ । 

नरहरी पर्वको अवसरमा जिल्लाका विभिन्न धामहरु माघ स्नान समेत गर्ने गरिएको छ । पाटनस्थित रामेश्वर धाम, स्वर्गेनी पीपल, ईश्वरी गंगा धाम, त्रिवेणी धाम लगायतका क्षेत्रहरुमा आज स्नान गर्ने घुइँचो लाग्ने गरेको स्थानीयहरुले बताएका छन् । 

यस्तै थारु समुदायले माघे सक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने गर्दछन् । 
 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update