बैतडी – अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । बैतडीको सुर्नया गाउँपालिका ४ सनशेरीमाण्डौंमा किसानहरुले पालेका बाख्रा मर्न थालेका स्थानीय परमानन्द भट्टले बताए ।
बाख्राहरुमा टाउको सुन्निने, मुख पाक्ने, र्याल काढ्ने लगायतका लक्षणहरु देखा पर्ने र त्यसपछि बाख्राहरु मर्ने गरेको उनले बताए । सोही रोगका कारण स्थानीय जयबहादुर महराका तीन बाख्रा मरेका भट्टले बताए ।
गाउँभरी बाख्रामा रोग देखिएपछि किसानहरु चिन्तित बनेका छन् । औषधिले समेत रोग निको नभएको भट्टले बताए । उनले भने ‘हामीले गाउँपालिकाको पशुस्वास्थ्य शाखाबाट औषधि पनि ल्याएर खुवायौं । तर रोग निको हुन सकेको छैन् ।’
गाउँमा किसानले पालेका अधिकांश बाख्रामा यस्तै लक्षण भएको रोग देखा परेको भट्टले बताए । बाख्रामा देखिएको रोगको निदानका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने किसानहरुले बताएका छन् ।