बैतडी –सुदूरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ । बझाङ बाहेकका आठ जिल्लामा अधिवेशन सम्पन्न भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ ।
कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट जिल्लाको नेतृत्व चयन गरिएको हो भने डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमालेले जनाएको छ ।
जिल्ला अधिवेशन सम्पन्न भएसँगै ८ जिल्लाले नयाँ नेतृत्व पाएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले बताए ।
बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाही जिल्ला अध्यक्षका रुपमा चयन भएका छन् ।
यस्तै, कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चन्द्र बोहरा र दार्चुलामा प्रेमसिंह धामी निर्वाचित भएका छन् ।