बैतडी – हत्यापछि खाल्डोमा गाडिएको अवस्थामा फेला परेका बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका ३० बर्षीय डम्मर अवस्थीको शव अझै आफन्तले बुझेका छैनन् । गएको बुधबार शव फेला परेको भएपनि घटनामा संलग्न अन्यहरुलाई खोजी गरी कारवाही गर्नुपर्ने माग राख्दै आफन्तले शव नबुझेका हुन् ।
डम्मरको शव पोष्टमार्टमपछि जिल्ला अस्पतालमै राखिएको छ । डम्मर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्य भएकाले उनको पार्टीले समेत शव बुझ्न इन्कार गरेको छ । घटनाका दोषीलाई कानुनी दायरमा लिएर कारवाही गर्नुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने नेकपाले माग राखेको छ ।
गएको मंसिर १४ गतेदेखि हराईरहेका डम्मरको शव गएको बुधबार फेला परेको थियो । उनको हत्यामा आफू संलग्न रहेको सोही ठाउँका हरिश अवस्थीले स्वीकार गरिसकेका छन् । आफू अपहरणमा परेको नाटक गरेका हरिशले नै डम्मरको हत्या गरेको स्वीकारेका हुन् । उनले दिएको लोकेसनकै आधारमै डम्मरको शव फेला परेको थियो । तर हत्यामा अरुको संलग्नताका बिषयमा अझै खुलीनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घटनाका बिषयमा अनुसन्धान भईरहेको उनले बताए ।
डम्मरका आफन्तले भने उनको हत्यामा एकजनामात्रै नभएर अरुको संलग्नता रहेकाले सबै दोषी पक्राउ नपर्दा सम्म शव नउठाउने बताएका छन् । डम्मरको हत्यामा संलग्न सबैको पहिचान भएमात्रै शव बुझ्ने मृतकका दाजु तीर्थराज अवस्थीले बताए ।