बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ का ३० बर्षीय डम्मर अवस्थीको हत्या प्रकरणमा गाउँकै थप एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्नया ६ कै नवराज अवस्थीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
उनलाई घटनाका बिषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए । अहिले नै घटनामा उनको संलग्नताका बिषयमा केही भन्न नसकिने ओझाले बताए ।
यसअघि डम्मरको हत्यामा संलग्न रहेका सोही ठाउँका हरिश अवस्थी भने प्रहरी नियन्त्रणमै छन् । हरिशले आफू विप्लव माओवादीबाट अपहरणमा परेको नाटक गरेपछि घटनाको पर्दा खुलेको हो । उनले डम्मरको हत्या गरेको स्वीकार गरिसकेका छन् ।
यता डम्मरका परिवारजनले भने हत्यामा संलग्न सबैको पहिचान गरी कानुनी दायरमा नल्याउँदा सम्म शव नबुझ्ने अडान लिएका छन् । यस्तै उनीहरुले क्षतिपूर्तीको समेत माग गरेका छन् । डम्मरको शव पोष्टमार्टम पछि जिल्ला अस्पतालमै राखिएको छ ।
गएको बुधबार घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो ।