बैतडी –आफ्नो कार्यकर्ताको हत्यामा संलग्न रहेका सबैलाई कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आज सुर्नयामा प्रदर्शन गरेका छन् ।
सुर्नया ६ खर्काधार ३० बर्षीय डम्मर अवस्थीको गएको बुधबार शव फेला परेपछि नेपाल कम्युनिष्ट पार्टीले हत्यामा संलग्न सबैलाई खोजी गरी कानुनी कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएको छ ।
आज सुर्नया गाउँपालिकाको केन्द्रमै पुगेर प्रदर्शन गरेको नेपाल कम्युनिष्ट पार्टीका सुर्नया सचिव अम्बादत्त अवस्थीले बताए । मृतक डम्मर अवस्थी विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका थिए । उनको हत्यामा संलग्न एकजना हरिश अवस्थी पक्राउ परिसकेका छन् भने अर्का एकजनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । तर विप्लव माओवादीले डम्मरको हत्यामा एकजना मात्रै नभएर अन्यको संलग्नता रहेको दाबी गर्दै आएको छ । हत्यारा पत्ता नलागे सम्म आफूहरुको आन्दोलन जारी रहने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव रामसिंह कुँवरले बताए ।