बैतडी –सरकारले कोरोना विरुद्ध बुस्टर डोज लगाउने भनेपनि बैतडीमा भने खोपको अभावमा तत्कालै बुस्टर डोज लगाउन नसकिने भएको छ । सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र जेष्ठ नागरिकलाई लगायतलाई बुस्टर डोज लगाउने तयारी गरेको हो । तर जिल्लामा खोपको अभाव रहेकाले तत्काल बुस्टर डोज लगाउन नसकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
खोपको मौज्दात भएका जिल्लाहरुमा बुस्टर डोज लगाउने अभियान शुरु भएपनि खोपको अभाव भएका जिल्लाहरुमा यो अभियान सञ्चालन हुन नसकेको उनले बताए । खोपको माग गरिएकाले आपूर्ती हुने बित्तिकै बुस्टर डोज दिइने उनले बताए ।
कोरोना विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका लक्षित समूहका व्यक्तिहरुलाई बुस्टर डोज दिइने भट्टले बताए । उनले भने ‘कोरोना विरुद्धको खोपको पूर्ण मात्रा पाएको ६ महिना पूरा भएका नागरिकलाई बुस्टर डोज दिइने हो । तर अहिले खोपको अभाव रहेकाले जिल्लामा यो अभियान सञ्चालन हुन सकेको छैन् ।’
बैतडीमा झण्डै एक लाख नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् भने १ लाख ३३ हजार बढी नागरिकले कोरोना विरुद्ध खोपको पहिलो मात्रा पाएका छन् । १८ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप दिने कार्य जारी रहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।