बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ८ मल्लादेहीमा फलाम खानीको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । खानी तथा भुगर्भ विभागको टोलीले १८ दिन लगाएर फलाम खानीको सम्भाव्यता अध्ययन सकिएको हो । फलाम खानीको सम्भाव्यता अध्ययन सकेर पौष ३० गते टोली काठमाण्डौं पुगेको हो ।
मल्लादेहीमा फलाम खानीको सम्भाव्यता अध्ययन सकिएको र अब तथ्यांक बिश्लेषणको काम भईरहेको सम्भाव्यता अध्ययनमा संलग्न खानी तथा भुगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट ठाकुर कँडेलले बताए ।
म्याग्नेटिभ सर्भे र इलेक्ट्रीकल रिसेस्टीभीटी विधिबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिएको उनले बताए । तीनजनाको टोलीले फलाम खानीको सम्भाव्यता अध्ययन गरेको हो ।
सम्भाव्यता अध्ययन पछि अब उपयुक्त मात्रा र गुणस्तर भएको फलाम भए नभएको बारेमा तथ्यांक बिश्लेषणपछि थाहा हुने कँडेलले बताए । उपयुक्त मात्रा र गुणस्तरको फलाम भएमा केमिकल बिश्लेषण अघि बढाइने उनले बताए ।
फलामको अवस्था हेरेर मात्रै खानी उत्खननको काम अघि बढ्ने कँडेलले बताए । मल्लादेही क्षेत्रमा मात्रै नभएर ढोल्यामोड सम्म समेत फलामयुक्त चट्टान रहेकाले तथ्यांक बिश्लेषणपछि मात्रै थप कुरा थाहा हुने उनले बताए ।