बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउँका नवराज अवस्थीले पनि हत्यामा संलग्न रहेको स्वीकार गरेका छन् ।
आइतबार नियन्त्रणमा लिएका नवराजलाई सोधपुछ गर्दा उनको पनि हत्यामा संलग्नता रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । अब अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान गरिने ओझाले बताए । उनले भने ‘अहिले सम्म डम्मरको हत्यामा दुईजना संलग्न रहेको स्वीकार गरिसकेका छन् । हामी उनीहरुमाथि थप अनुसन्धान गरिरहेका छौं ।’
यसअघि सोही ठाउँका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । गएको मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो । उनको हत्या गरेर शव गुफामा गाडेको अवस्थामा फेला परेको हो । उनको शव पोष्टमार्टम पछि अहिले पनि जिल्ला अस्पतालमै रहेको छ । उनको हत्यामा संलग्न सबै पक्राउ नपर्दा सम्म शव नबुझ्ने आफन्तहरुले अडान लिएका छन् ।
डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत भएकाले उनको पार्टीले समेत हत्यामा संलग्न सबैको पहिचान गरी कारवाही हुनुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग अघि सारेको छ ।