Sagun Khabar
पाटन नगरपालिकाद्वारा निषेधाज्ञामा थप कडाई 

बैतडी –बैतडीको पाटन नगरपालिकाले आइतबार( आज) देखि निषेधाज्ञामा थप कडाई गरेको छ । नगरक्षेत्रभित्र कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि आजदेखि निषेधाज्ञामा थप कडाई गरेको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । 

कोरोनाको दोश्रो लहर फैलिएयता नगरपालिका भित्रका दुईजनाको दुखद निधन समेत भईसकेकाले कोरोनाका ‘चेन ब्रेक’गर्न निषेधाज्ञामा थप कडाई गरिएको हो । ‘कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि हामीले निषेधाज्ञामा थप कडाई गरेका हौं । नागरिकको जीवन रक्षाका लागि यो कदम उठाएका हौं । यसमा सबैले सहयोग गर्नुपर्ने हुन्छ ।’

Atrya hospital

निषेधाज्ञामा थप कडाई गरिएसंगै पाटन नगरपालिकाभित्रका बजार जेठ २ गते सम्म पूर्ण रुपमा बन्द रहनेछन् । यस्तै विकास निर्माणका कामहरु समेत बन्द रहनेछन् । 

यसैगरी पूजापाठ, विवाह ब्रतबन्धजस्ता सामाजिक कार्यहरुमा ५ जनाभन्दा बढी भेला गर्न पाइनेछैन् । पाटन नगरपालिकाभित्र निषेधाज्ञामा थप कडाई गरिएको र कसैले उल्लंघन गरेमा संक्रामक रोग ऐेन २०२० अनुसार कारवाही हुने जनाइएको छ ।

 पाटन नगरपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि संक्रमितहरुलाई आइसोलेसनमा राख्ने कार्य शुरु गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने ‘हामी वडा तहमा आइसोलेसनको व्यवस्थापन गर्न भनेका छौं । स्वास्थ्यका मापदण्ड पालना गरेनौ भने अवस्था भयावह हुन सक्छ । त्यसैले सतर्कता अपनाउन आग्रह गर्दछौं ।’ 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update