बैतडी – स्थानीय प्रशासनले आदेश जारी गरेर १२ देखि १७ बर्ष उमेर समूहका सबै बालबालिकाहरुलाई खोप लगाउन भनेपनि बैतडीमा खोपको अभाव भएको छ । बालबालिकाहरुलाई कोरोना विरुद्ध दिइने मोडर्ना खोपको अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
बालबालिकाहरुलाई कोरोना विरुद्ध दिइने मोडर्ना खोपको पहिलो मात्रा ३१ हजार १७५ बालबालिकाले लगाएका छन् । जिल्लामा ३८ हजार बढी बालबालिका १२ देखि १७ बर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । खोप लगाउनका छुटेका बालबालिकाहरुका लागि खोप अभाव भएको स्वास्थ्य प्रमुख भट्टले बताए । खोपको माग गरिएकाले केही दिनभित्रै आपूर्ती हुने उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले भने यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको भएपनि खोपको कभरेज भने कमै रहेको पाइएको छ । यो निर्णयले नागरिकलाई सेवा लिन समस्या हुने देखिएको छ । तर नागरिकहरुको खोपमा पहुँच पुर्याउनका लागि यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।