बैतडी –बैतडीमा पनि कोरोना संक्रमण बढ्दै गएको छ । गएको एकहप्ता यता संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
सोमबार जिल्लामा १० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीको श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
आज दशरथचन्द नगरपालिकाका ३ जना, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बझाङका तीन जना, बाजुरा र दार्चुलाका एक÷एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलबार थप १० जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १७ जना, पाटन नगरपालिकामा ७ जना, पञ्चेश्वर गाउँपालिकामा ६ जना, पुर्चौंडी नगरपालिकामा ४ जना, मेलौली नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, शिवनाथ र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका ६ जना सक्रिय संक्रमित रहेका छन् ।