बैतडी – विभिन्न निर्णयहरु पारित गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको बैठक सम्पन्न भएको छ । जिल्लामा नयाँ नेतृत्व आएपछि कार्यसमितिको दोश्रो बैठक सम्पन्न भएको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए ।
सोमबारदेखि शुरु भएको जिल्ला कार्यसमितिको बैठक आज सम्पन्न भएको हो । बैठकले पार्टीको जिल्ला कोषाध्यक्षमा चक्रबहादुर चन्दलाई मनोनित गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको सचिव चन्दले बताए ।
यस्तै पार्टीका गतिविधिलाई चलायमान बनाउन माघ १६ गते भातृसंस्था र शुभेच्छुक संस्थाका पदाधिकारीहरुसंग परामर्श बैठक बस्ने निर्णय गरेको छ ।
यस्तै आगामी फागुन ७ गते जिल्लाका ८४ ओटै वडामा एकैदिन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै १० ओटै पालिका र ८४ ओटै वडामा नेपाली कांग्रेसको प्रोफायल तयार पार्ने निर्णय पनि भएको सचिव चन्दले बताए । प्रोफायलमा क्रियाशील सदस्यहरुको नामावली, टोल समितिका सदस्यहरु लगायतको तथ्यांक अद्यावधिक गरिनेछ ।
यसैगरी कांग्रेसको मासिक बैठक प्रत्येक महिनाको २८ गते बस्ने निर्णय समेत बैठकले गरेको सचिव चन्दले बताए । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा सोमबार क्षेत्रीय सभापति र पालिकाका सभापतिहरुसंग परामर्श गरिएको थियो । सभापतिहरुसंगको छलफलमा पार्टीको संगठनलाई बलियो बनाउन विभिन्न बिषयमा छलफल भएको सचिव चन्दले बताए ।