बैतडी –बैतडीमा कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहहरु उदासीन देखिएका छन् । कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपनि तहहरुले त्यसको रोकथामका लागि खासै कार्यक्रम ल्याउन सकेका छैन् ।
कोरोना संक्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाको महत्वपूर्ण संयन्त्रको रुपमा रहेको जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकमा समेत स्थानीय तहका जनप्रतिनिधिहरु सहभागि हुन छोडेका छन् । दशरथचन्द नगरपालिका बाहेकका अन्य स्थानीय तहका प्रतिनिधिहरु बैठकमा सहभागी नभएको बताइएको छ ।
मंगलबार बसेको जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका प्रतिनिधि सहभागी नभएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘हामीले सबै तहका प्रमुखहरुलाई खबर गरेका थियौं । स्वास्थ्य कार्यालय मार्फत पनि खबर गरेका थियौं । तर उनीहरु बैठकमा उपस्थित भएनन् ।’
जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी नहुँदा आवश्यक निर्णय गर्न समेत समस्या भएको छ । बैठकले स्थानीय तहहरुलाई आइसेलेसन सेन्टर व्यवस्थापनका लागि फेरी आग्रह गरेको छ ।
संक्रमितहरु होम आइसोलेसनमा बसीरहेकाले उनीहरुलाई संस्थागत आइसोलेसनमा राख्नु उपयुक्त हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यस्तै कोभीड व्यवस्थापन समितिको बैठकले संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । यस्तै घुम्ती परीक्षणको व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ ।