बैतडी –जिल्ला खेलकुद विकास समिति बैतडीले, बैतडी क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको प्रति आफ्नो आपत्ती रहेको जनाएको छ । समितिका अध्यक्ष चमनकुमार भण्डारीले एक विज्ञप्ती निकाल्दै संघको नयाँ कार्यसमितिमा सबै क्षेत्र र भुगोल नसमेटिएको हुनाले आफूहरुको आपत्ती रहेको बताए ।
बैतडी क्रिकेट संघको नयाँ कार्यसमितिमा अधिकांश दशरथचन्द नगरपालिकाभित्रकै व्यक्ति समेटिएका र अन्य भुगोललाई स्थान नदिएकाले नयाँ कार्यसमिति गठनप्रति खेलकुद विकास समितिको आपत्ती रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघको सातौं जिल्ला अधिवेशनले बुधबार विनोदबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
यता बैतडी क्रिकेट संघले संघको विधान अनुसार नयाँ समिति गठन भएको जनाएको छ । विधिवत रुपमा दर्ता र नवीकरण भएका क्रिकेट क्लबहरुलाई सदस्यता प्रदान गर्ने विधान रहेकाले सोही अनुसार गरिएको बैतडी क्रिकेट संघका निवर्तमान अध्यक्ष लालबहादुर चन्दले बताए ।
जिल्लामा अहिले १२ ओटा क्रिकेट क्लब विधिवत रुपमा दर्ता र नवीकरण भएका उनले बताए । दर्ता र नवीकरण भएका क्लब मात्रै संघका सदस्य हुने र उनीहरुले मात्रै अधिवेशनमा भाग लिन पाउने उनले बताए ।