बैतडी –बैतडीमा क्रिकेट संघको नयाँ कार्य समिति चयन प्रति जिल्ला खेलकुद विकास समितिले आपत्ती प्रकट गर्दै विज्ञप्ती जारी गरेपछि बैतडी क्रिकेट संघले पनि विज्ञप्ती जारी गरेको छ ।
संघको सातौ अधिवेशनले विधान अनुसार नै नयाँ कार्यसमिति चयन गरेको भएपनि खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीले थप अन्यौल सिर्जना भएको भन्दै आपत्ती प्रकट गरिएको छ ।
क्रिकेट संघको विधान अनुसार क्लब दर्ता र नवीकरण भएका ठाउँबाट कार्यसमितिमा सदस्य आउनु स्वाभाविक भएको बैतडी क्रिकेट संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बैतडी क्रिकेट संघमा १२ ओटा क्लब दर्ता भएका ती मध्ये दशओटा दशरथचन्द नगरपालिकाका रहेका छन् ।
मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक क्लब संघमा दर्ता रहेका छन् । पाटनको क्लब नवीकरण नभएको समेत संघले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैतडी क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा संघमा कुनै व्यक्ति बिशेष वा स्थान बिशेष नभई विधान अनुसार कार्यसमिति चयन भएको उल्लेख गरिएको छ । कुनै क्लबलाई दर्ता हुन वा नवीकरण गर्न कहिकतैबाट अवरोध भएको भए सप्रमाण आउन पनि संघले आग्रह गरेको छ ।
बुधबार सम्पन्न भएको बैतडी क्रिकेट संघको सातौं जिल्ला अधिवेशनले विनोदबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।