बैतडी –बैतडी सहित देशभर सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक निकायमा सेवा लिन पुग्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर खोप कार्ड अनिवार्य साथमा राख्न भनेको छ । यसका साथै मोबाइलमा फोटो खिचेर समेत खोप कार्ड राख्न सकिने सूचना अधिकारी भारतीले बताए ।
कोरोना विरुद्धको खोपमा नागरिकको पहुँच बढाउनका लागि यो अभियान शुरु गरिएको उनले बताए । खोप नलगाएकाहरुले नजिकका खोप केन्द्रमा गएर खोप लगाउन सक्ने उनले बताए । यस्तै जिल्ला अस्पतालमा दैनिक खोप लगाउने गरिएको भारतीले बताए ।
खोप कार्ड नभएकाहरुलाई सार्वजनिक निकायबाट सेवा प्रदान नगरिने बताइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय स्थानीय तहका नागरिकलाई शुक्रबारदेखि आलोपालो सेवा दिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आलोपालो सेवा दिइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए ।
आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।
बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुने सूचना अधिकारी भारतीले बताए ।