बैतडी –स्थानीय सरकार आएपछि पनि विकासको असारे प्रवृति कायमै रहेको गुनासो बढीरहेका बेला बैतडीको सुर्नया गाउँपालिकाले अझै पनि योजना र बजेट बाँडफाँड गर्न सकेको छैन् ।
गएको असार २५ गते गाउँसभाबाट डल्लो बजेट पारित गरेको गाउँपालिकाले चालु आर्थिक बर्षको ६ महिना पूरा भईसक्दा समेत बजेट नै बाँडफाँड गर्न सकेको छैन् । बजेट नै बाँडफाँड नहुँदा गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका कामहरु केही पनि शुरु भएका छैनन् ।
चालु आर्थिक बर्षमा गाउँपालिकाको बजेटबाट सञ्चालन हुने कामहरु शुरु नभएका गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र धामीले बताए । योजना र बजेट नै बाँडफाँड हुन बाँकी रहेकाले बजेट खर्च नभएको उनले बताए । चालु आर्थिक बर्षका लागि गाउँपालिकाले ३७ करोड बजेट गाउँसभाबाट पारित गरेको थियो ।
बजेट बाँडफाँडलाई टुंगो लगाउने हिसाबले बिहीबार बसेको कार्यपालिका बैठकले पनि योजना र बजेटको टुंगो लगाउन सकेको छैन् । आर्थिक बर्षको ६ महिना बितिसक्दा समेत गाउँपालिकाले बजेट बाँडफाँड गरी कार्यान्वयनमा ल्याउन नसकेको भन्दै नागरिकस्तरमा व्यापक आलोचना शुरु भएको छ ।
कोरोना महामारी तीव्र गतिमा फैलिन थालेका बेला बजेट कार्यान्वयन हुनेमा पनि शंका हुन थालेको छ । कोरोना महामारीका कारण योजना कार्यान्वयनमा चुनौती आउने देखिएको छ ।