बैतडी –सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ५ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा २ हजार २५० जनाको परीक्षण गर्दा ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ ।
३ सय ७१ जना एन्टिजेन र १ सय ९४ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
आज थपिएकामध्ये १ सय ६८ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक रहेका निर्देशानालयले जनाएको छ । त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ८७, गड्डाचौकी नाकाबाट आएका ७४, झुलाघाटबाट आएका ५ र पुलघाटबाट फर्केका दुईजनामा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयले प्रदेशभरी तीन हजार ३९३ जना सक्रिय संक्रमित रहेको जनाएको छ । सबैभन्दा बढी कैलालीमा १ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन् ।