बैतडी –बैतडीको पाटन नगरपालिका २ की राजमती कोली गएको स्थानीय तहको निर्वाचनमा दलित महिला वडा सदस्यको रुपमा निर्वाचित भईन् । शुरुमा वडा सदस्य भएपछि कसरी काम गर्ने भन्ने उनलाई लागिरहेको थियो । तर समय बित्दै जाँदा नागरिकका समस्या पालिका सम्म पुर्याउन सक्ने र आवश्यक बजेट विनियोजनका लागि दबाब दिन सक्ने आँट उनमा आएको छ । उनले भनिन् ‘मलाई शुरुमा समूहमा गएर बोल्न एकदमै डर लाग्थ्यो । तर यो कार्यकालले धेरै कुरा सिकाएको छ । महिलाका हकहितका बिषयमा पनि बोल्ने बनाएको छ ।’
राजनीति मार्फत महिलाहरुको अवस्था परिवर्तन गर्न सकिने कुरामा आफू विश्वस्त भएको राजमतीले बताइन् । वडा सदस्यको रुपमा निर्वाचित भएपछि आफ्ना समस्याहरु प्रत्यक्ष रुपमा राख्न पाएको उनले बताइन् । उनले भनिन् ‘मेरा लागि यो कार्यकाल सिकाईको कार्यकाल बन्यो । अब राजनीतिमै अघि बढ्ने योजना बनाएकी छु ।’
जिल्लाको पाटन नगरपालिका ५ की वडा सदस्य वसन्ती ठगुन्नाले महिलाका हक अधिकार स्थापित गर्न महिलाकै नेतृत्व आवश्यक पर्ने बताइन् । यो कार्यकालले धेरै कुराको सिकाई भएको उनको पनि अनुभव छ । महिलाका लागि योजना बनाउने, बजेट विनियोजन गर्न दबाब दिएपनि सबैमा सफलता भने नमिलेको उनको भनाई छ । उनले भनिन् ‘हामीले यो कार्यकाललाई अगाडि बढ््ने खुड्किलोको रुपमा लिएका छौं ।’
रुडेस बैतडीले महिला नेतृत्व मञ्च गठन गर्नका लागि आयोजना गरेको छलफल कार्यक्रममा सहभागी निर्वाचित महिला जनप्रतिनिधिहरुले अझै राजनीतिमा महिलाको पहुँच भने अनुसार नपुगेको र यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
यसैबीच अनिता जोशी भट्टको नेतृत्वमा पाटन नगरस्तरीय महिला नेतृत्व मञ्च गठन भएको छ । आगामी निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ नगरस्तरीय महिला नेतृत्व मञ्च गठन गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
सो मञ्चको उपाध्यक्षमा सरस्वती भट्टराई, सचिवमा राधा जोशी, कोषाध्यक्षमा निर्मला ऐर लगायत अन्य सदस्यहरु रहेका छन् ।
महिला नेतृत्व मञ्चले महिलाहरुको नेतृत्व विकासका लागि वडा वडामा पनि वडास्तरीय महिला नेतृत्व मञ्च गठन गर्ने रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताए ।
ती मञ्चहरुमा महिलाहरुको नेतृत्व स्थापित गर्ने बिषयमा छलफल हुने उनले बताए । यसअघि रुडेसले दशरथचन्द नगरपालिकामा पनि नगरस्तरीय महिला नेतृत्व मञ्च गठन गरिसकेको जनाएको छ ।