बैतडी –बैतडीको पाटन नगरपालिकामा सामाजिक सुरक्षा नीति र कार्यक्रमका बिषयमा छलफल भएको छ । अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरेको ग्रीन परियोजना अन्तर्गत जनप्रतिनिधिहरुसंग छलफल गरेको हो ।
सामाजिक सुरक्षा कार्यक्रममा भारतमा काम गर्ने आप्रवासी कामदारहरुलाई कसरी समेट्ने भन्ने बिषयमा पनि छलफल भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
संघीय सरकारले निर्माण गरेको सामाजिक सुरक्षा नीति र स्थानीयस्तरमा बनाउन सकिने नीतिका बिषयमा कार्यक्रममा छलफल भएको उनले बताए ।
नगर क्षेत्रबाट रोजगारीका लागि भारत जाने आप्रवासी कामदारहरुको जीवनबीमा गर्ने बिषयमा पनि छलफल भएको छ । उनीहरुको तथ्यांक संकलन गरेर जीवन बीमा गर्ने बिषयमा छलफल भएको रुडेस बैतडीका कार्यकारी निर्देशक जोशीले बताए ।
यस्तै सामाजिक सुरक्षा नीति र कार्यक्रमलाई प्रभावकारी बनाउन र स्थानीयस्तरमा थप कार्यक्रम लागु गर्न नगर प्रवक्ता लोकबहादुर भण्डारीको संयोजकत्वमा एक समिति समेत बनेको छ । समितिले सामाजिक सुरक्षा नीति र कार्यक्रमलाई स्थानीयस्तरमा प्रभावकारी बनाउन र थप नीति बनाउनका लागि पहल गर्ने बताइएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमका लाभग्राहीहरुलाई सजिलो होस भनेर नगरपालिकाले सफ्टवेयर खरीद गर्ने र त्यसैमा सबै लाभग्राहीहरुको तथ्यांक समावेश गर्ने बिषयमा पनि छलफल भएको कार्यकारी निर्देशक जोशीले बताए ।