बैतडी –कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला मालपोत कार्यालय बैतडीले आलोपालो सेवा दिन शुरु गरेको छ । स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिन शुरु गरिएको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयमा सेवा लिन पुग्ने नागरिकले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र कोभीड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने कार्यालय प्रमुख दिलाराम भट्टले बताए ।
मालपोत कार्यालयले आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिनेछ । यस्तै मंगलबार दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइने छ ।
यस्तै बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने मालपोत कार्यालयले जनाएको छ । माघ ७ गतेदेखि नै मालपोत कार्यालयले आलोपालो सेवा प्रणाली शुरु गरेको जनाएको छ ।