Sagun Khabar
विद्यालयका छात्रा बेहोस हुँदा पठनपाठनमा समस्या  
तस्बिर : बैतडीको शर्मालीस्थित नागार्जुन माविमा बेहोस भएका छात्रा 
Atrya hospital

गएको बिहीबार बैतडीको शिवनाथ गाउँपालिका शर्मालीस्थित नागार्जुन माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा प्रार्थना लाइनमै एक्कासी बेहोस भईन् । त्यसको केहीबेरपछि अन्य छात्राहरुमा पनि त्यो समस्या देखियो । एक्कासी छात्राहरु बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन नै अवरुद्ध भएको विद्यालयका प्रधानाध्याप महामलसिंह साउँदले बताए । उनले भने ‘हाम्रो विद्यालयमा कक्षा ८ देखि १० मा अध्ययनरत छात्राहरुमा एक्कासी बेहोस हुने समस्या देखियो । यसले गर्दा शिक्षण क्रियाकलापमा असहज भएको छ छ ।’
बिहीबारदेखि छात्रा बेहोस हुने क्रम चलेपछि सोमबार सम्म सो विद्यालयका १० भन्दा बढी छात्रा बेहोस भएका छन् । उनीहरु एक्कासी बेहोस हुने र बर्बारउने गरेको प्रधानाध्यापक साउँदले बताए । उनले भने ‘प्रार्थना लाइनमै छात्राहरु बेहोस हुनथाले । हामीले नजिकै स्वास्थ्य संस्थामा लगेर दुई तीन घण्टामा उनीहरुमा होस आयो ।’
बेहोस भएका मध्ये कक्षा १० मा अध्ययनरत जमुना कलौनीलाई भने थप उपचारका लागि धनगढी लगिएको प्रधानाध्यापक साउँदले पुष्टि गरे । उनले भने ‘जमुनालाई अरुको भन्दा बढी समस्या देखियो । त्यसैले घरपरिवारले उपचारका लागि धनगढी लगेका छन् ।’
छात्राहरु बेहोस हुने समस्या नागार्जुन माविको मात्रै होइन् । केही दिन अघि जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोला स्थित मणिलेक माविका छात्राहरुमा पनि त्यो समस्या देखियो । विद्यालयमा कक्षा ८ देखि १० मा अध्ययनरत केही छात्राहरुमा एक्कासी बेहोस हुने समस्या देखिएको विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले बताए । 
छात्राहरुमा देखिने यस्तो समस्या मास कन्भर्सन डिसअर्डर  हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लाका विभिन्न विद्यालयका छात्राहरुमा देखिएको यो समस्या मास कन्भर्सन डिस अर्डर भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले भने ‘यो समस्या सबै उमेर समूहका मानिसमा हुन्छ । तर किशोरीहरुमा यो समस्या बढी देखा पर्दछ ।एकजनालाई यो समस्या भएमा अरुलाई पनि हुने गर्दछ ।’
मानसिक तनाव, व्यक्त गर्न नसकेका कुरा लगायतका कारणले यो हुन सक्ने डा. जोशीको तर्क छ । यो एक प्रकारको मानसिक समस्या भएको उनले बताए । 
किशोरीहरुमा यस्ता समस्या आउन नदिन उनीहरुलाई मानसिक तनावबाट मुक्त राख्नुपर्ने डा. जोशीको तर्क छ । तर कतिपय विद्यालयका छात्रामा यो समस्या देखिँदा देवदेवता लागेको भन्दै पूजापाठ समेत गर्ने गरिएको छ । 

 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update