बैतडी –जंगली बँदेल गाउँमै पसेर आतंक मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं १ को रीममा त्रास फैलिएको छ । जंगली बँदेलको आक्रमणबाट गाउँका एकजनाको मृत्यु भएपछि अहिले गाउँभरी त्रास फैलिएको स्थानीय प्रेम कार्कीले बताए ।
सोमबार साँझ गाउँमा पसेको जंगली बँदेलले घोरडी गाउँका ४ जनालाई घाइते बनाएको र ती मध्ये एकजनाको मृत्यु भएको उनले बताए । गाउँमै पसेर बँदेलले आक्रमण गर्न थालेपछि गाउँभरी त्रास फैलिएको उनले बताए । उनले भने ‘जंगलबाट बँदेल गाउँमै पसेर आक्रमण गर्न थालेपछि गाउँभरी त्रास फैलिएको छ । यसले गर्दा हामीहरुलाई निकै समस्या भएको छ ।’
रातीको समयमा बालीनाली नष्ट गर्दै आएका जंगली बँदेल गाउँमै पसेर आक्रमण गर्न थालेपछि बाली पहरा दिन पनि छोडेको कार्कीले बताए । जंगली बँदेलले बालीनाली पुरै नष्ट गरेको उनले बताए । उनले भने ‘रातीको समयमा हामी पहरा दिने गर्दथ्यौं । तर हिजोको घटनाले हामीलाई झस्काएको छ । अब बालीनाली जोगाउन पनि मुस्किल भएको छ ।’
जंगली बँदेलले गाउँमै पसेर आक्रमण गर्न थालेपछि घासदाउरा र मेलापातका लागि समेत जंगल जान निकै डर लागेको स्थानीय जैमती कार्कीले बताइन् । उनले भनिन् ‘जंगलमा नजाऔं भने घासदाउरा कहाँबाट ल्याउने ? जाउँ भने कसरी जाने ? हामीलाई निकै समस्या भएको छ ।’
गाउँ नजिकैका जंगलबाट जंगली बँदेल मानवबस्ती पस्न थालेपछि निकै त्रास फैलिएको स्थानीय पूजा कार्कीले बताइन् । उनले एक्लै हिड्न समेत डर लागेको सुनाइन् । उनले भनिन् ‘गाउँघरमै हिडडुल गर्न समेत डर लाग्ने गरेको छ । गाउँमै जंगली बँदेल पसेर आक्रमण गरेपछि हामी निकै डराएका छौं ।’
जंगली बँदेल गाउँमा पस्दा निकै त्रास फैलिएको स्थानीय नवीन जोशीले बताए । उनले भने ‘बँदेलकै कारण हामीले आफन्त गुमायौं । अहिले गाउँमा निकै त्रास छ । बँदेलको आतंकले हामी निकै समस्यामा छौं । बालीनाली नष्ट भएकै थियो अब मानवीय क्षति समेत हुने थालेपछि हामीलाई निकै समस्या भएको छ ।’
सोमबार साँझ गाउँमा पसेको जंगली बँदेलको आक्रमणबाट घाइते भएका घोरडीका मनोरथ जोशीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइते मध्ये स्थानीय बल्देव कार्कीको धनगढीमा उपचार भईरहेको छ । घाइते बीरभान सार्की र हरिदत्त जोशी स्थानीय स्वास्थ्य संस्थामै उपचार भएको थियो ।
जंगली जनावहरुको बासस्थान नष्ट हुँदा उनीहरु मानवबस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको उनले बताए । उनले भने ‘जंगली जनावरहरुको बासस्थानमा कुनै न कुनै समस्या आउँदा उनीहरु मानव बस्तीमा पस्छन् । त्यसैले उनीहरुको बासस्थान संरक्षणमा हामीले ध्यान दिनुपर्दछ ।’