बैतडी–कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि बैतडीका केही सरकारी कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । कोरोनाको तेश्रो लहर फैलिएसंगै कर्मचारीहरु संक्रमित भएपछि कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् ।
जिल्ला अदालत बैतडीले माघ १८ गते सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । अदालतमा कार्यरत केही कर्मचारीहरुमा कोरोना पुष्टि भएकाले अत्वाश्यक बाहेकका सेवा बन्द गरिएको अदालतले जनाएको छ ।
यस्तै जिल्लाको मेलौली नगरपालिकाले पनि अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका जनाएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना पुष्टि भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले बताइन् ।
जिल्लाको मेलौली नगरपालिकामै रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए ।
सुरक्षित प्रसुती सेवा र अन्य आकस्मिक बाहेकका सेवा बन्द गरिएका दयालले बताए । यता जिल्ला अस्पतालले पनि अर्को सूचना नभए सम्मका लागि दन्त सेवा बन्द भएको जनाएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि दन्त सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्वास्थ्यका मापदण्ड अपनाउन लापरवाही भएकै कारण कोरोना तीव्र गतिमा फैलिरहेको उनीहरुको भनाई छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी कार्यालयहरुले आलोपालो सेवा दिन थालेका छन् । स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने गरिएको छ भने सार्वजनिक सेवा लिँदा खोप कार्ड अनिवार्य गरिएको छ ।