Sagun Khabar
बैतडीमा बाख्रालाई पीपीआर खोप लगाइँदै 

बैतडी –बैतडीमा बाख्राहरुलाई पीपीआर खोप लगाउने कार्य शुरु गरिएको छ । भेडाबाख्रामा लाग्ने पीपीआर रोगबाट बचाउनका लागि पीपीआर खोप लगाउने कार्य शुरु गरिएको भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए ।  

जिल्लाका १० ओटा स्थानीय तह मध्ये ९ ओटा स्थानीय तहमा भ्याक्सीन पठाएर प्राविधिकहरुले खोप लगाउने कार्य गरिरहेका पन्तले बताए । शिवनाथ गाउँपालिकामा भने केही दिनभित्रै भ्याक्सिन पठाइने उनले बताए । गाउँपालिकामा पशु प्राविधिक नहुँदा अर्को ठाउँबाट प्राविधिक खटाउनुपर्ने पन्तले बताए । 

Atrya hospital

जिल्लाभरी ७५ हजार बाख्रालाई पीपीआर खोप लगाउने लक्ष्य रहेको र प्रत्येक पालिकामा ७ हजार डोज खोप पठाइएको उनले बताए । राजमार्ग नजिकका ठाउँ, व्यवसायिक बाख्रा पालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने कार्य भईरहेको पन्तले बताए । 

प्रदेश सरकारको कार्यक्रम अन्तर्गत खोप अभियान सञ्चालन गरिएको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ । गत बर्ष खोप लगाएका बाख्राहरुमा यो खोप नदिइने पन्तले बताए । 

बाख्रामा पीपीआर रोग लागेमा ठूलो नोक्सानी हुने भएकाले त्यो रोगबाट बचाउनका लागि खोप अभियान सञ्चालन भईरहेको हो । जिल्लामा करीब १ लाख ३५ हजार बाख्रा रहेका अनुमान गरिएको छ । ती मध्ये यो बर्ष ७५ हजार बाख्रालाई पीपीआर खोप दिइनेछ । 

बाख्रामा पीपीआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउने लगायतका लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । यो रोगबाट किसानहरुलाई क्षति नहोस भनेर पीपीआर खोप लगाउने कार्य सञ्चालन भएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update