बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बाँदर धपाउने उपाय निकाल्न स्थानीयहरुले सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरेका छन् ।
खेतबारीमा लगाएको बालीनाली बाँदरले सबै सखाप पारेको,भित्र राखेका सामग्री समेत बाँदरले नष्ट गर्न थालेपछि बाँदर धपाउने उपाय निकाल्क स्थानीय सरकारको ध्यानाकर्षण गराउन संघर्ष समिति गठन गरेको समितिका संयोजक इन्द्रदेवशरण भट्टले बताए । उनले भने ‘हामीले प्रत्येक वडाबासीको हस्ताक्षर संकलन गरेका छौं । वडा कार्यालय, पालिका, स्थानीय प्रशासन र डिभिजन वन कार्यालयलाई बुझाउने तयारी गरेका छौं ।’
बाँदर धपाउने उपाय निकालेर नागरिकलाई राहत दिनु सरकारको दायित्व भएकाले सोही अनुसार काम गर्न सरकारलाई आग्रह गरेको भट्टले बताए ।
आफूहरुलाई बाँदरले निकै सास्ती दिएको र यो बिषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएको स्थानीय उमेश भट्टले बताए । बाँदर धपाउने उपायका लागि स्थानीय सरकारले केही पहल नगरे महाकाली राजमार्ग समेत बन्द गर्ने उनले चेतावनी दिए । उनले भने ‘हामीले खेत बाँझै छोड्न थालेका छौं । बजारबाट किनेर ल्याएको सामग्री समेत बाँदरले भित्रै पसेर खाइदिँदा हामीलाई धेरै समस्या भएको छ ।’
वडा कार्यालय, गाउँपालिका कार्यालय, स्थानीय प्रशासन र डिभिजन वन कार्यालयमा आइतबार निवेदन दिने संघर्ष समितिले तयारी गरेको छ । आफ्ना मागहरु १५ दिनभित्र पूरा नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिले जनाएको छ ।
बाँदरका कारण स्थानीय पलायन हुनुपर्ने अवस्था आउँदा समेत स्थानीय सरकारले केही ध्यान दिन नसकेको स्थानीयहरुको गुनासो रही आएको छ । बाँदर र जंगली बँदेलले आफूहरुलाई धेरै समस्यामा पारेमा भट्टले बताए ।
दोगडाकेदार गाउँपालिका वडा नं १ रीममा केही दिन अघि जंगली बँदेलको आक्रमणबाट एकजनाको ज्यान गएको थियो भने ३ जना घाइते भएका थिए ।
जंगली बँदेलले क्षति पुर्याएमा राहत दिने निर्देशिका भएपनि बाँदरले पुर्याएको क्षतिका बिषयमा राहत दिने कुनै नीति नभएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने ‘वन्यजन्तुको क्षति राहत निर्देशिकामा बाँदरले क्षति पुर्याएमा राहत दिने त्यस्तो कुनै प्रावधान छैन् । बाँदरले बालीनालीमा गर्ने क्षतिबाट जोगाउन धपाउने उपाय मात्रै हुन सक्छ ।’