कैलाली –यहि माघ १२ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर(पिएसओ)समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका थिए ।
जोशीको शवको पोष्टमार्टमपछि गर्नुअघि कोरोना परीक्षण समेत गरिएकाले उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि समेत पठाइएका समेत प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने उनले बताए । प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ गुरुद्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए । जोशीको दरबन्दी धनगढी गणमा थियो ।