बैतडी –व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको भन्दै जिल्ला प्रशासन कार्यालयले वडा सचिवहरुलाई स्पष्टीकरण सोध्न थालेको छ । राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भएपनि बैतडीका धेरै जसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोध्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
कतिपय वडाहरुले २० बर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको पाइएको, धेरै जसोले व्यक्तिगत घटना दर्ता अनलाइनमा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको उनले बताए । राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा एम आइ एस अपरेटर राखेको भएपनि अनलाइन दर्ता गर्ने कार्य नभएको भारतीले बताए ।
धेरै जसो वडामा कानुन नै नपढेर हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले उनीहरुलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २०७५ साल भदौ १ गतेपछिका हरेक व्यक्तिगत घटना दर्ता अनलाइनमा दर्ता हुनुपर्ने भएकाले त्यसो नभएकाले स्पष्टीकरण सोधिएको हो ।
अहिले सम्म जिल्लाका विभिन्न स्थानीय तहका २२ ओटा वडामा कार्यरत सचिवहरुलाई स्पष्टीकरण सोधिएको सूचना अधिकारी भारतीले बताए ।
सुर्नया गाउँपालिकाका ६ ओटा वडा, दशरथचन्द नगरपालिकाका २ ओटा वडा, पाटन नगरपालिकाका ५ ओटा वडा, दोगडाकेदार गाउँपालिकाका २ ओटा वडा, डिलाशैनी गाउँपालिकाका २ ओटा वडा, मेलौली नगरपालिका २ ओटा वडा, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक ओटा वडाका सचिवहरुलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्ता लगायतका कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भएपनि त्यसो नगरेका वडा सचिवहरुलाई स्पष्टीकरण सोधिएको हो ।
जिल्ला प्रशासन कार्यालयले अनलाइनमा व्यक्तिगत घटना दर्ता नगरेकाहरुलाई आइतबारदेखि नागरिकता नदिने पनि जनाएको छ । राष्ट्रिय पञ्जीकरण विभागकै कार्ययोजना अनुसार अनलाइन घटना दर्ता नहुँदा सम्म नागरिकता प्रदान नगरिने सूचना अधिकारी भारतीले बताए ।