बैतडी – शहीद दशरथचन्दको जन्मभूमी बैतडीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको शहीद दिवस मनाइएको छ । कोरोना भाइरसका कारण सीमिति मानिसको उपस्थितीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको र नेपाल प्रहरीले सलामी अर्पण गरेको उनले बताए । शहीद चन्दको शालिकामा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरुले खेलेको भूमिकाका बारेमा चर्चा समेत भएको थियो ।
अन्य बर्ष धुमधामका साथ शहीद दिवस मनाउने गरेको भएपनि यो बर्ष कोरोना भाइरसको महामारीका कारण थोरै मानिसको सहभागितामा स्वास्थ्यका मापदण्ड अपनाएर कार्यक्रम गरेको अध्यक्ष चन्दले बताए ।
स्थानीयस्तरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान स्थापना गरिएको भएपनि यसलाई सरकारी प्रतिष्ठान बनाउने प्रयास अझै सफल हुन सकेको छैन् । दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनका लागि आफूहरुले पहल गरेको भएपनि सरकारका तर्फबाट खासै सहयोग हुन नसकेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष तेजप्रकाश भट्टले बताए । उनले भने ‘शहीद दिवसका दिनमात्रै शहीदहरुलाई सम्झेर उनीहरुका सपना पूरा हुँदैनन् । देशमा उनीहरुले खोजेको परिवर्तनलाई संस्थागत गर्नका लागि सरकारले कदम चाल्नुपर्छ ।’