Sagun Khabar
डम्मर हत्या प्रकरण :परिवारले शव बुझे, थप अनुसन्धानको माग गर्दै प्रदेश राजधानीमा आफन्त 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ का ३० बर्षीय डम्मर अवस्थीको शव आफन्तले आइतबार बुझेका छन् । गत पौष २८ गते हत्या गरिएको अवस्थामा डम्मरको शव फेला परेपनि आफन्तहरुले विभिन्न माग राख्दै शव बुझ्न मानेका थिएनन् । तर आइतबार भने बिना कुनै सहमति उनीहरुले शव बुझेका छन् । 

डम्मरको हत्यामा संलग्न सबैको पहिचान गरी कानुनी दायरमा ल्याउनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तीको माग गरेपनि त्यसो हुन नसकेपछि लामो समयपछि बाध्य भएर शव बुझेको मृतकका दाजु दिवाकर अवस्थीले बताए । शव बुझ्नका लागि चारैतिरबाट दबाब आएपछि शव बुझेर अन्तिम संस्कार गरेको अवस्थीले बताए । 

Atrya hospital

डम्मरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय हरिश अवस्थी र नवराज अवस्थीलाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान जारी राखेको छ । दुवै जनाले हत्यामा संलग्न भएको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

यता मृतकका परिवारले भने डम्मरको हत्यामा अरु पनि संलग्न रहेको भन्दै थप अनुसन्धान गर्न माग गरिरहेका छन् । डम्मरको हत्या सुनियोजित रुपमा भएको र थप हत्यारा पक्राउ गर्न प्रहरी असफल भएको मृतकका दाजु तीर्थराज अवस्थीले आरोप लगाए । हत्यारा जोगाउन प्रहरी नै सक्रिय रहेको उनको आरोप छ । 

गत मंसिर १४ गते घरबाट हराएका डम्मरको शव ४५ दिनपछि उनको घर नजिकैको धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो ।  

यसैबीच डम्मर हत्याकै बिषयलाई लिएर मृतकका आफन्त सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन् । उनीहरुले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाइ एक निवेदन समेत दिएका छन् । अनुसन्धानमा प्रहरीले नै असहयोग गरेको र त्यसमाथि छानबनी तथा अनुसन्धान गरिदिन माग गर्दैैै निवेदन दिएका हुन् । मन्त्रालयलाइ दिएको  निवेदनमा घटनाको यथेष्ट अनुसन्धान गरेर दोषीलाई कारवाही तथा परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन माग गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update