बैतडी –नेपाली कांग्रेस बैतडीले आफ्ना भातृसंस्था र शुभेच्छुक संस्थाका पदाधिकारीहरुसंग छलफल गरेको छ । कांग्रेस बैतडीको नयाँ नेतृत्वले पार्टीलाई संगठनात्मक रुपले बलियो बनाउनका लागि भातृसंस्था र शुभेच्छुक संस्थाका पदाधिकारीहरुसंग आइतबार छलफल गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका भातृसंस्था र ट्रेड युनियन कांग्रेसमा आवद्ध शुभेच्छुक संस्थाका पदाधिकारीहरुसंग छलफल गरिएको सचिव जोशीले बताए । उनले भने ‘नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरु क्रियाशील बनाउन र कांग्रेसको संगठनलाई बलियो बनाउन हामीले छलफल तथा अन्तरक्रिया गरेका हौं ।’
छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडी कांग्रेसलाई गतिशील बनाउन सबैले लाग्नुपर्ने बताए । अब आउने चुनावमा पार्टीलाई पहिलो पार्टी बनाउन सबैले सहयोग गर्नुपर्ने उनले जोड दिए ।
पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाउन जिल्ला कार्यसमितिले पहल गरेको र यसमा सबैको सहयोग हुनुपर्ने उनले बताए । अबका दिनमा यस्ता छलफल तथा अन्तरक्रियालाई निरन्तरता दिइने सभापति चन्दले बताए ।