बैतडी –बैतडीको रौलाकेदार धाममा केदारनाथ ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिरको शिलान्यास गरिएको छ । रौलाकेदार धाम नजिकैको दुले भन्ने स्थानमा मन्दिर निर्माणका लागि आइतबार शिलान्यास गरिएको हो ।
नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले मन्दिरको शिलान्यास गरेको गुरुका प्रवक्ता विक्रमसिंह धामीले जानकारी दिए । मन्दिरको शिलान्यासका क्रममा जगद्गुरुले रौलाकेदारको महिमाका बारेमा स्कन्ध पुराणको मानसखण्डमा उल्लेख भएका कुराहरुको बारेमा जानकारी दिएका थिए ।
रौलाकेदार बाह्र ज्योतिर्लिङ्ग मध्येको केदारनाथ ज्योतिर्लिङ्ग भएको जगदगुरुको भनाई छ । मन्दिर शिलान्यासको क्रममा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, मोहनचन्द्र शास्त्री, जगद्गुरुका प्रवक्ता विक्रम धामी, भम्केनी धामका महासचिव करन भट्ट लगायतको उपस्थिती रहेको थियो ।
स्थानीयस्तरमै नागरिकको सहभागितामा ज्योतिर्लिङ्ग स्थापनाका लागि पहल भएको धामीले बताए । आइतबार नै मन्दिर निर्माणका लागि केहीले चन्दा समेत दिएका उनले बताए ।