बैतडी –अनेरास्ववियु बैतडीले स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार निर्वाचन गर्नुपर्ने उल्लेख गरिएको छ ।
संविधानमा भएको धारा २२५ को अपव्याख्या गरेर वर्तमान सरकारले चुनाव धकेल्न खोजेको अनेरास्ववियुको ठहर छ । आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुले स्थानीय तह रिक्त हुने अवस्था आउन सक्ने तर्फ सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
अनेरास्ववियुका बैतडी संयोजक नरेन्द्र साउँदद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएकाले समयमै चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ । चुनावको मिति नतोके आन्दोलनमा उत्रने समेत अनेरास्ववियुले चेतावनी दिएको छ ।